मानव बेचबिखनको मुद्दा लागेका वडाध्यक्षलाई उच्च अदालतले दियो सफाइ


१ श्रावण २०७६, बुधबार १६:५१ मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत नुवाकोटले  चेलीबेटी बेचविखन गरेको आरोपमा ३७ वर्ष जेल पठाएका  ‍दुप्चेस्वर-१ का वडाअध्यक्ष  सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

उनलाई जिल्ला अदालत नुवाकोटले २०७४ साल चैत ७ गते चेलीबेटी बेचबिखनकै मुद्दामा ३७ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसला सोमबार उच्च अदालतका न्यायाधीश रमेश बहादुर थापा र हरिप्रताप केसीको इजलासले उल्टाएर सुनबहादुरलाई सफाइ दिएको हो । भारतमा बेचिएर फर्केका महिलाहरूले सुनबहादुरसहित ३ जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए । प्रहरीले त्यही जाहेरीका आधारमा उनीविरूद्ध मुद्दा चलाएको थियो । यसबाहेक उनीविरूद्ध मानवबेचविखनका अरू पनि मुद्दा छन् ।

पहिलो पटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो । तर उनी जेल गएनन्। प्रहरीले उनलाई  ‘फरार’  सूचीमा राखेको थियो ।

प्रहरीको फरार सूचीमा रहे पनि गाउँमा उनी ‘निस्फिक्री’ राजनीति गरिरहेका थिए । प्रहरीका अनुसार, घ्याङफेदी आसपासका क्षेत्रमा चेलीबेटी बेचबिखनको उनको ठूलो सन्जाल छ । तिनै सुनबहादुरले २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्ष जिते ।

बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो । त्यसपछि तामाङविरूद्ध सरकारले जिल्ला अदालत काठमाडौंमा अर्को २ वटा मुद्दा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here