बजेटको अस्तित्वमाथि प्रश्न उठ्नेगरी ल्याउन हुँदैनः पूर्वअर्थमन्त्री पौडेल


११ जेष्ठ २०८१, शुक्रबार १८:१४ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताउनुभएको छ ।

शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१÷०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ल्याउने बजेट शुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौति रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिनुभयो । उहाँले बजेट राजश्व,अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताउनु भयो ।

उहाँले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गर्नुभयो । पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गर्नुभयो । उहाँले १६ औं योजना,दिगो विकास लक्ष्य,अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागि भएका राजनीतिक दलहरुको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनमा जोड दिनुभयो । उहाँले मुख्यतया बजेट निर्माणको आधारसरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको स्रोत,साधन र सम्भावनाहरुको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिनुभयो । मानिसहरुका सुन्दर चाहानाहरु बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here