बगरमा खर्बुजा खेती, राजमार्गमा बिक्री


२७ बैशाख २०८१, बिहीबार ११:२७ मा प्रकाशित

कञ्चनपुरमा पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरू यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् । 

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन् । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन् । 

बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छु । यसैबाट घरखर्च चलेको छ, रामकृष्णले भने, दैनिक तीन/चार हजार रुपैयाँको बिक्री हुन्छ । 

उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम ५० रुपैयाँका दरले तर्बुजा बिक्री हुने गरेको छ ।

गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ, उनले भने, यो सिजनमा राम्रो आम्दानी हुन्छ ।’ वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन् । उनले  वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here