पार्टी विभाजन असंवैधानिक, गैरकानूनी छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव


२६ बैशाख २०८१, बुधबार १३:५२ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनु भएको छ ।

पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताउनुभयो ।

पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनु भयो ।

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो । उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताउनु भयो ।

अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here