झापामा ब्राउनसुगरसहित एकै दिन चारजना पक्राउ


१२ बैशाख २०८१, बुधबार ०७:५४ मा प्रकाशित

झापा । झापामा प्रतिबन्धित लागुऔषधसहित मंगलवार एकै दिन चार जना पक्राउ परेका छन् ।

मंगलवार बिहान १० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिराट आदर्श टोलमा बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापा ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

मंगलवार साँझ थप तीनजना पक्राउ परेका छन् । साँझ ६: १५ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र सेतो रंगको प्लाष्टिकको पोकामा १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलवार साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भइ दमक नगरपालिका वडा नं.९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक वडा नं. ९ बस्ने २६ वर्षीय भीष्म कँडेललाई बिशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here