कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ


११ बैशाख २०८१, मंगलवार १४:२४ मा प्रकाशित

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि संघीय राजधानी काठमाडौँ सिँगारिएको छ। कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायत काम गरेको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरिएको बताए। 

“काठमाडौँ महानगरले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरी परिचालनमा विशेष ध्यान दिएका छौँ,” उनले भने। 

काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ। स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्वीरअंकित ब्यानर राखिएको छ। उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षक रूपमा सजाइएको छ। उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्वीरअंकित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।

‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ट पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन्। विशिष्ट पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ। प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ। काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली संघ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन्। 

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here