सहकारीबाट लिएको ऋण तिर्दिन भन्ने अतिवादी सोचलाई परास्त गर्नुपर्छः कानूनमन्त्री गिरी


२० चैत्र २०८०, मंगलवार १४:२८ मा प्रकाशित

झापा- कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी संस्थाहरूबाट लिएको ऋण तिर्दिन भन्नु अतिवादी सोच भएको बताएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा जिल्ला सहकारी संघ झापाले आयोजना गरेको ६७ औं सहकारी दिवसमा बोल्दै मन्त्री गिरीले ऋण तिर्दिन वा नतिर्नु भन्ने मानिसहरूका पछि नलाग्न सहकारीका शेयर सदस्यहरूलाई आग्रह गरे ।

उनले भने, ‘सहकारी संस्थाहरूबाट लिएको ऋण नतिर्ने हो भने बचतकर्ताको रकम कसरी फिर्ता हुन्छ? उसले लिएको ऋण कहाँबाट आउँछ? यस्तो कुराले देशको अर्थतन्त्रलाई ध्वस्त पार्छ कि पार्दैन? यस्ता अतिवादी सोचहरूलाई परास्त गर्नुपर्छ ।’

मन्त्री गिरीले सरकार सहकारीकर्मीहरूको साथमा रहेको आश्वासन दिए । सहकारीकर्मीहरूले असुरक्षा महसुस गरिरहेका बेला सहकारीको सिद्धान्तका आधारमा कारोबार गर्नेहरूलाई सरकारले साथ दिने उनले आश्वासन दिए ।

‘तपाईंहरू कति पनि चिन्तित नहुनु होला । सरकार साथमा छ,’ मन्त्री गिरीले भने, ‘तपाईंहरूका कमजोरी पनि सुधार गर्दै लैजानु होला ।’

पैसा तिर्नुपर्ने ठाउँमा यसरी नै तिर्दिन भन्दै जाने हो भने देशको अर्थतन्त्र नै धरासायी बन्ने स्थितिमा पुग्ने उनको भनाइ थियो ।

उनले भने, ‘जहाँसुकै पैसा तिर्दिन भन्दै जाने हो भने देश कहाँ पुग्छ?’

सहकारीको नीति बाहिर गएर सिंगो सहकारी क्षेत्रलाई डुबाउने सहकारी सञ्चालकहरूलाई निर्मतापूर्वक कारबाही गरिनुपर्ने मन्त्री गिरीको भनाइ थियो ।

केही सहकारीको असफलता देखाएर ऋण तिर्नु पर्दैन भनेर बसिरहेकाहरूले ठूलो भूल गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here