एमाले झापाको अध्यक्ष र उपाध्यक्षमा गिरी र ढुङ्गेल सर्वसम्मत चयन


१८ चैत्र २०८०, आईतवार ०८:३४ मा प्रकाशित

झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा प्रेमबहादुर गिरी सर्वसम्मत चयत भएका छन् ।

उपाध्यक्ष पदमा शिव ढुंङ्गेल सर्वसम्मत चयन भएका छन् ।

शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो ।

अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो ।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो ।

सचिव पदमा पनि सर्वसम्मत गराउने पहल भइरहेको पार्टीका केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिए ।  पुरुष उपसचिव पदमा असारु राजवंशी सर्वसम्मत चयन भएका छन् ।

एक महिला उपसचिवतर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएकी छिन् । शनिवार साँझसम्म पाँचवटा पालिका सर्वसम्मत भएको कार्कीले बताए ।

उनले भने, ‘आज दशवटा पालिका पनि सर्वसम्मत गराउँछौं । कुनै पनि पदका लागि चुनाव गराउन नपर्ने पक्षमा हामी छौं ।’

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतवार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरुमा पनि सहमति जुटाउने कसरतमा नेताहरु लागेका छन् ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन् ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । विभिन्न जनवर्गीय संगठनहरुबाट पछि थप १५ जना मनोनितसमेत हुनेछन् । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here