तनहुँ । राजद्रोह मुद्दामा पक्राउ भएर तनहुँ जिल्ला अदालतबाट सामान्य रिहा भएलगत्तै तनहुँ प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका चार कार्यकर्तालाई पुनः नियन्त्रणमा लिएको छ ।
राजद्रोह मुद्दाको सुनुवाईका लागि तनहुँ जिल्ला अदालत लगिएकामा अदालतले रोल्पाका जंगबहादुर भण्डारी(आक्रोश), कास्कीका सन्तोष परियार (परिवर्तन), भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङलाई साधारण तारेखमा रिहाको आदेश दिएको थियो । अदालतले रिहा गरे पनि प्रहरीले पक्राउ गर्ने डरले चारै जना राती अबेरसम्म पनि अदालत परिसरमै थिए ।
भित्र र बाहिर दुवैतिर प्रहरी सुरक्षाकर्मी बाक्लो परिचालन गरिए पछि चारै जना कार्यकर्ता अदालतबाट बाहिर निस्केका थिए । निस्कनासाथ चारै जनालाई पक्रिएको प्रहरी नायब निरिक्षक मनोज पाण्डेले बताए । उनीहरुविरुद्ध स्याङजा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको पाण्डेले बताए ।





