हाफ म्याराथनमा सन्तोषी र दीपक च्याम्पियन


१० चैत्र २०८०, शनिबार १४:२५ मा प्रकाशित

वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभूवन आर्मी क्लवका दीपक अधिकारीले शनिवार राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्प दीपक र महिलामा वागमतीकी सन्तोषी च्याम्पियन भएका हुन् । दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् ।

दशरथ रंगशालाबाट शुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको हो । दीपकले यो निर्धारित दुरी पूरा गर्न एक घण्टा सात मिनेट ३३ सेकेण्ड समय लगाए । एपिएफका गोपिचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे । आर्मीका नरेन्द्र रावलले चौथो भए । नरेन्द्रले एक घण्टा आठ मिनेट ५१ सकेण्ड समय लगाए । खडकबहादुर खड्का एक घण्टा आठ मिनेट ५६ सकेण्डमा दूरी पूरा गर्दै पाँचौं स्थानमा रहे ।

महिलामा च्याम्पियन सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेण्ड समय लगाइन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाए । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो र एपिएफकी पूर्णलमति राना तेस्रो भए ।

पूर्णलक्ष्मीले एक घण्टा २३ मिनेट २० सेकेन्ड र पूलमतीले एक घण्टा २५ मिनेट १७ सेकेण्ड समय लगाए । महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पाए ।

१० किलोमिटर पुरुषतर्प खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राईले शिर्ष पाँच स्थान प्राप्त गरे ।

यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ र वविता थापा पाँचौं स्थानमा रहिन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here