लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई अर्थमन्त्री पुनको निर्देशन


४ चैत्र २०८०, आईतवार १४:१४ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।

आईतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो ।

विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्‍याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिनुभयो । लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउनु भयो ।

उहाँले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताउनु भयो । उहाँले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here