झापा । झापाको गौरादहमा एक बृद्धाको हत्या भएको छ । हत्या आफ्नै नातिलगायतको टोलीले गरेको प्रहरीले जानकारी दिएको छ । हजुरआमाको हत्या गर्ने नातिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या गरी शव गाडिएको अवस्थामा बुधबार फेला परेको थियो ।
बृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको भएको प्रहरीले जानकारी दिएको छ । लागूऔषध सेवन गरेका धिरजले हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्यापश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए । पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले बुधबार बिहान प्रहरीमा उजुरी दिएका थिए ।
नाति धिरजले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धिरजले दिएको बयान अनुसार उनका साथीहरु टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धिरजको संलग्नता पुष्टि भए पनि उनका साथीहरुको संलग्नताको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
शिवरात्रिका दिन लागूऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए ।
घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।