झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग शुक्रबार सम्झौता भएको छ ।
प्रतियोगितालाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ ।
बिर्तामोडस्थित सहारा नेपाल साकोसको हलमा पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्नाका प्रतिनिधि र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो ।
झापा गोल्डकप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।
छैटौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ए डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ ।