एमाले जिल्ला अधिवेशन : कैलालीमा आज अध्यक्ष ओलीले उद्घाटन गर्ने


६ फाल्गुन २०८०, आईतवार १०:५० मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अधिवेशन उद्घाटन हुने भएको छ । योसँग प्रदेशका अन्य जिल्लामा पनि अधिवेशनको सरगर्मी बढेको हो ।

कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले दौडधुप चुलिएको छ । यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लागेका छन् । आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेता कम्मर कसेर लागेका हुन् ।

केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लागेका छन् भने  एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्व अध्यक्ष दामोदर भण्डारीले भने पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अध्यक्षका लागि अघि सारेका छन् ।

भोलि सोमबारसम्म जिल्लाको सुखडमा हुने नवौँ अधिवेशनको लागि आगामी नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here