झापा । झापा गोल्डकपको छैटौं संस्करणका लागि आयोजक समिति तयारीमा जुटेको छ ।
फागुन १९ गतेदेखि हुने गोल्डकपका लागि मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिइएको हो ।
पाँचौं झापा गोल्डपकको हिसाव सार्वजनिक नगरेको विषय पत्रकार सम्मेलनमा जोडतोडका साथ उठेको थियो । गोल्डकपले औपचारिक रुपमा हिसाव सार्वजनिक नगरे पनि कोषाध्यक्ष केदार गिरीले आफ्नो मोवाइलमा भएको हिसाव पत्रकारहरुलाई सुनाए । कबोल भएको सहयोग संकलन नभएकाले सार्वजनिक नगरेको पनि स्पष्ट पारिएको छ ।
गिरीले सार्वजनिक गरे अनुसार झापा गोल्डकपको खातामा ९८ लाख ८८ हजार २ सय १३ रुपैयाँ मौज्दात छ ।
बिर्तामोडको एक्सल डेभेलपमेन्ट बैंकमा ६५ लाख ३२ हजार ८ सय २० रुपैयाँ, धौलागिरी पारिजात सहकारीमा ९ लाख ३५ हजार १ सय ४६ रुपैयाँ, स्वरोजगार भवानी सहकारीमा २१ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ, शिखर सहकारीमा १ लाख २५ हजार र पृथ्वी सहकारीमा १ लाख २५ रहेको कोषाध्यक्ष गिरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
फागुन १९ गतेदेखि हुने गोल्डकपका लागि १ करोड ४० लाख लागत अनुमान गरिएको छ ।