धनकुटा । चार दिन देखि परेको अविरल वर्षाको कारण धनकुटाको धेरै स्थानको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न स्थानमा करिब २ सय घरमा क्षति पुगेको छ ।
धनकुटामा रहेको सात स्थानीय तह मध्ये छथर जोरपाटी र चौबिसे गाउँपालिका तथा धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका क्षेत्रमा बढि क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ । दुई दर्जन बढि घर भत्किएको र अन्य आंसिक क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए । त्यस्तै पहिरोको कारणले एक विद्यालय र दुई प्रहरी चौकीमा समेत क्षति पुगेको एसपी कोइरालाले बताए । महालक्ष्मी नगरपालिकाको ३, ५, ८ र ९ मा १२ घरमा क्षति पुगेको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए । उनले नगरपालिकाको तर्फबाट सम्बन्धित वडाअध्यक्षलाई तत्काल राहात उपलब्ध गराउन अनुरोध गरिएको र काम भइरहेको बताए ।
महालक्ष्मी नगरपालिकाको जीतपुर बजारस्थित प्रहरी चौकी र छथर जोरपाटीको सिधुवा बजारमा रहेको प्रहरी चौकी पहिरोको जोखिम परेका छन् । यस्तै, पाख्रिबास नगरपालिका ५ स्थित घोर्लिखर्कमा तीन घरमा क्षति पुगेको छ । स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको पाख्रिबास नगरपालिका प्रमुख विर्खबहादुर राईले जानकारी दिए । धनकुटा नगरपालिका ७ चुलिबनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ । सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदा पठनपाठन बन्द भएको विद्यालयका प्रअ लोकेन्द्र राईले बताए ।
यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले—लेगुवा—भोजपुर सडकमा तीन दिनदेखि यातायात अवरुद्ध भएको छ । सडकको करिब दश ठाउँ भन्दा धेरै स्थानमा पहिरो खसेको र माङमाया खोलामा रहेको अस्थायी ड्राइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । यस्तै मुलघाट–त्रिवेणी सडक, तमोर करिडोर र सिधुवा–लेगुवा सडक समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए । सडक अवरुद्ध भएपछि विच बाटोमा अलपत्र परेका यात्रुको घटनास्थलबाट उद्धार गरिएको उनले बताए ।
यस्तै पहिरोका कारण छथर जोरपाटीमा रहेको धनकुटाकै एक मात्र सिमेन्ट उद्योग निगाले सिमेन्ट उद्योगमा पहिरोको क्षति पुर्र्याएको छ । करिब दुई सय मिटर क्षेत्रफल पहिरोले क्षति पुगेको सञ्चालक दिनेश पौडेलले बताए । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।





