दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने


२४ पुष २०८०, मंगलवार १४:४६ मा प्रकाशित

दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्ने र मासु बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्यसहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो चलन अन्त्य गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

पहिले पहिले दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा खानाको मेनुबाट कुकुरको मासु हट्दै गएको छ भने युवाहरूले पनि रुचि देखाएका छैनन् ।

नयाँ कानुन लागू भएपछि मासुकै लागि कुकुर पाल्न पाइने छैन । कुकुर काटेको वा मासु खाएको पाइएमा जेलसमेत पठाउन सकिने खबरमा उल्लेख छ । मासुकै लागि कुकुर पालेमा तीन वर्षसम्म जेल सजाय हुनसक्छ भने कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुन सक्छ ।

यद्यपि कुकुरको मासुको उपभोग आफैँमा गैरकानुनी हुने छैन । किसान र रेस्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय दिने नयाँ कानुन तीन वर्षभित्र लागू हुनेछ । कुकुर पाल्ने र मासुको कारोबार गर्नेहरूलाई वैकल्पिक पेसामा जान प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार दक्षिण कोरियामा २०२३ मा कुकुरको मासु पकाउने झन्डै १६ सय वटा रेस्टुरेन्ट छन् भने झन्डै १२ सय वटा कुकुर फार्म रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here