भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको उर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिनुभयो ।
उहाँले दुई देशका उर्जा सचिवहरुका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताउनु भयो ।
त्यस्तै नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ । त्यसैगरी काठमाडौंस्थित भारतीय दुतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमती भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीनवटा प्रशारण लाइनको उद्घाटन भएको बताउनु भयो ।