काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् ।
शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन् । प्रधानमन्त्री दाहाललाई भेटेपछि साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्रीहरु एक भइ प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताए ।
उनले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापन पत्रको निरन्तरता वा अधिकार माग्नको लागि निरन्तरता दिने काम नभइ यो पटक संविधान कार्यान्वयनको लागिथ अल्टिमेटम दिइएको बताए ।
उनले संविधान समयमै कार्यान्वयन नभए थप दबाबमुलक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिए । ज्ञापन पत्र बुझाउने, आश्वासन दिने निरन्तरताको क्रमभंग गर्न आफूहरु काठमाडौं आएको उनको भनाइ थियो ।
प्रदेशमा सुशासनको बारेमा प्रश्न उठ्ने गरेको भन्दै संघीय कानून नबन्दा कर्मचारीहरु नियुक्ति गर्न नपाएको र आधा कर्मचारीहरुबाट सुशासन दिन नसकिने उनले बताए ।
मुख्यमन्त्री कार्कीले संघीय संसद र सांसदहरुले विधेयकमा छलफल गरेर कानून पास गर्ने कुरा बिर्सिएर मन्त्री बन्ने र भाइरल हुने काममा मात्रै लागेको आरोप लगाए । उनले संघीय सांसदलाई भाइरल हुने रोग लागेको बताए ।