सिप बिल्डिङका १८ जनाले ईपीएसका लागि भरे फाराम, अरू सडकमा


१३ पुष २०८०, शुक्रबार १५:१८ मा प्रकाशित

काठमाडौ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि थप १८ जनाले आवेदन फाराम भरेका छन् । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएका सुरज पाठकसहितका १८ जनाले आवेदन फाराम भरेका हुन् ।

उनीहरूले आज बिहान ईपीएस कोरिया शाखा कार्यालयमा आएर फाराम भरेर गएका हुन् । कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले उनीहरूले आवश्यक कागजातसहित कार्यालयमा आएर फाराम बुझाएर गइसकेको बताए ।

सिप बिल्डिङका लागि आवेदन दिएकाहरूलाई हाल खुलेको उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा पाठकसहित १८ जनाले अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई आवेदन फाराम भर्न दिनु र प्रक्रियामा सहभागी गराउनु भनेको थियो । सोही आधारमा उनीहरूलाई आवेदन फाराम भर्ने प्रक्रियामा सहभागी गराइएको निर्देशक सुवेदीले बताए ।

उनीहरूसँगै सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका २८ हजार भन्दा बढीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाएनन् । उनीहरू यति बेला कार्यालय र बालकुमारी सडक खण्डमा आन्दोलनमा छन् । उनीहरूले आफूहरूले समेत आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरुको आन्दोलनका कारण ग्वार्को क्षेत्र तनावग्रस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here