जनकपुरधाम । प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरूलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरूलाई आह्वान समेत गरेको छ ।
बाढी पहिरोका कारण सबै बाटोहरू अवरुद्ध भएकोले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टरको लागि पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए । बिहीबारदेखि परेको अविरल वर्षाले प्रदेशभरिकै जनजीवन प्रभावित भएको छ ।





