मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको अर्थमन्त्री महतको दाबी


१० पुष २०८०, मंगलवार १५:२२ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताउनुभएको छ ।

मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ को उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउन सकिने दोहोर्‍याउनु भयो । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गर्नुभयो । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गर्नुभयो । उहाँले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व-पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here