नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताउनुभएको छ ।
आईतवार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गर्नुभयो ।
उहाँले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउर्नु पर्ने बताउनु भयो ।
उहाँले अफ्ठ्यारोमा परेका व्यवसायीहरुलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले अफ्ठ्यारोमा परेको बेला ऋणीहरुको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताउनु भयो। उहाँले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताउनु भयो।
उहाँले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझ्न नसकेको बताउनु भयो। उहाँले ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताउनु भयो ।