काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन आफूले लगातार पहल गरिरहेको बताउनुभएको छ ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आईतवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पीडितलाई न्यायको अनुभुति हुनेगरी संक्रमणकाललाई निष्कर्षमा पुर्याउन आफूले आम राष्ट्रिय सहमति बनाउनका लागि पहल गरिरहेको बताउनुभएको हो ।
संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन ढिलो भइरहेको स्वीकार गर्दै उहाँले विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभुति हुनेगरी सो कार्यलाई छिट्टै निष्कर्षमा पुर्याउने प्रतिवद्धता पनि दोहोर्याउनु भयो ।
प्रधानमन्त्री दाहालले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्न सरकार सदैव लागि परेको समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय मानव अधिकार आयोग ऐनसम्बन्धि विधेयक संसदका आगामी अधिवेशनमा पेश गर्ने आश्वासन समेत दिनुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण मानव अधिकारका सबै आयामहरु जोखिममा परेकाले त्यस बिरुद्ध जुध्ने र अनुकुलनका लागि वातावरण सृजना गरी मानव अधिकारको रक्षा गर्न सरकार संवेदनशील ढंगले लागि परेको पनि बताउनु भयो ।