झापा । ट्रयाक्टरमा माटोले छोपेर चिरान काठ चोरी तस्करी गर्न खोज्ने दुई जना झापाको अर्जुनधाराबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ बस्ने ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ वर्षीय रोहित घतानी रहेका छन् ।
शनिवार बिहान करिब ६ बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युबिकफिट सखुवा जातको चिरान काठ फेला परेको थियो ।
काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरुले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घुस दिन खोजेको नगद, २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठ, ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको छ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।