नेकपा एकीकृत समाजवादीकाे राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा


१९ मंसिर २०८०, मंगलवार १८:५२ मा प्रकाशित

काठमाण्डाै । नेकपा एकीकृत समाजवादी ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ ।

पार्टीका पदाधिकारीसहितका नेताहरुलाई सो मस्यौदा कमिटीमा राखिएको पनि तुलाधरले बताउनु भयो । नेकपा एसले माघ १४ र १५ गते भने पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बैठकले सो सम्मेलनका लागि विधानको व्यवस्था गर्न पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहनुभएको कार्यदल पनि गठन गरेको छ ।

त्यसैगरी सो राष्ट्रिय सम्मेलनको व्यवस्थानका लागि उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा अर्को कमिटी पनि बनाइएको छ ।

मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक पनि बोलाउने निर्णय गरिएको छ । पौषको नौ गते स्थायी कमिटी, १० गते पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटीको बैठक बसी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा प्रश्तुत हुने एजेण्डाबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव तुलाधरले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here