संसदीय समितिहरुले कानून निर्माणको काममा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि


१९ मंसिर २०८०, मंगलवार १८:३८ मा प्रकाशित

काठमाण्डाै । संसदीय समितिहरुले कानून निर्माणको काममा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘मिनी संसद’को रुपमा रहेका संसदीय समितिहरुले कानून निर्माणको लागि सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले समितिहरुले विधेयकहरुमाथि पर्याप्त छलफल गर्न नसकेको बताएका छन् ।

संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि अधिकांश समितिहरुको बैठक बस्न नसकेको भन्दै सांसदहरुले समितिको प्रभावकारीतामाथि प्रश्न उठाएका हुन् ।

हाल प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु रहेका छन् । त्यस्तै राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिहरु छन् भने २ वटा संयुक्त समिति रहेका छन् । तर केही समितिहरु बाहेक अधिकांश समितिले संसदको अधिवेशन अन्त्य भएपछि बैठक समेत राखेका छैनन् ।

सांसदहरुको गणपूरक संख्या नपुगेका कारण कतिपय समितिको बैठक पटक–पटक स्थगित हुने गरेको छ । बैठक बसेका समितिले पनि कुनै महत्वको र ठोस विषयमा छलफल गरी निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति बैठकमा गणपुरक संख्या पु¥याउन नै गाह्रो भइरहेको बताउनु भयो ।

विधेयक निर्माणमा सांसदहरुको ध्यान जान नसकेको उहाँले बताउनु भयो । बैठक बोलाउँदा पनि गणपूरक संख्या नपुगेको भन्दै उहाँले चाडपर्वमा गाउँघर गएका सांसदहरु अझै काठमाडौं नफर्किएका कारण यस्तो समस्या आएको बताउनु भयो ।

उहाँले संसदको दोस्रो अधिवेशन समेत प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विधेयक निर्माणमा सांसदहरुको उदासिनता देखिएको बताउनु भयो । सभापति साहले समितिको काम प्रभावकारी हुन नसक्नुमा राजनीतिक दलका शिर्ष नेताहरु पनि जिम्मेवार भएको बताउनु भयो ।

उहाँले ऐन, कानून निर्माणका लागि राजनीतिक दलका शिर्ष नेताहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here