कोप २८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढायोः सचिव खराल


१९ मंसिर २०८०, मंगलवार १७:०४ मा प्रकाशित

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालको तर्फबाट गर्नुभएको सम्बोधन र नेपालले उठाएका एजेण्डाहरुले विश्वको ध्यान खिचेको बताउनुभएको हो ।

मंगलवार दुबईमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप २८ मा नेपालको उपस्थिति र प्रश्तुति सशक्त बन्न गएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्शानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरुले सम्मेलनमा सचेत भएर सशक्त ढंगले आफ्नो प्रश्तुति दिएको बताउनु भयो ।

सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले व्यहोरेको हानी नोक्शानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरुको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताउनु भयो ।

सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुलाई सो निर्देशन दिएको र काठमाडौं फर्कने बित्तिकै सो कामको तयारीको कामलाई तीव्रताका साथ अघि बढाउने उहाँको भनाई थियो । समान परिवेश भएका देशहरुको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here