प्रधानमन्त्री दाहाल दुबईमा, के-के छन् कार्यक्रम ?


१४ मंसिर २०८०, बिहीबार १०:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुग्नुभएको छ ।

उहाँले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार राति नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गर्नुभएका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको थियो ।

उहाँलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन गर्नु हुनेछ ।  साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ ।

उहाँले साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरले उहाँको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ ।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने (कोप २८) विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ ।

उहाँले  डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here