काठमाडौँ । नेकपा एमालेले मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु गरेको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका हुन् ।
अध्यक्ष ओलीले आज नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्नुभयो । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी पुगिसकेका छन् ।
नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ ।
पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिनुभयो ।