झापा । भारी वर्षाका कारण नदी नालामा आएको बाढीले झापाका आधाभन्दा बढी स्थानीय तहका गाउँ डुबानमा परेका छन् ।
किसानले रोपेको धान डुबानमा परेको छ भने नदी तटिय क्षेत्रमा कटान र डुबान सुुरू भएको छ । झापाका ठूूला नदी कनकाई, विरिङ, कमल बनियानी, रतुवा, मेची, निन्दामा पानीको सतह बढेको छ । साना नदी गेउरिया, झिलभिले, दुधे, भालुखोला, सुरुङ्गा, देउनिया लगायतका खोलामा बाढी आएको छ ।
कमल बनियानी नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका वडा नम्बर ५ स्थित दुुबै नदीको दोभानमा पर्ने जतनाको तटबन्ध बाढीले भत्काएको छ । जनताको तटबन्धले यसै वर्ष बाँधेको बाँध भत्काएपछि वडाको सालमारा जोखिममा परेको छ । नदीको भंगालो सालमाराको गाउँमा पस्ने खतरा बढेको वडा नम्बर ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशीले बताए ।
उनका अनुसार कनकाई नदीमा आएको बाढीले सोही वडाको हात्तिसार क्षेत्रको बस्ती डुबानमा परेको छ । भेलामुनी, शिवमन्दिर, बालकल्याण आधारभुत विद्यालय, किच्चक डाँगी, विश्वडुवा र कनकाई प्राथमिक विद्यालय पनि जोखिममा परेका छन् ।
यस्तै, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजार पश्चिममा रहेको सन्थाल बस्ती पूूरै डुबानमा परेको छ । त्यहाँका १२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानियबासीले बताएका छन् । गौरीगञ्ज–१ कै भन्सारस्थित बालुवाढी बस्तीका ७ परिवार पनि डुबानका कारण सुरक्षित स्थानमा सरेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले सेतोपाटीलाई बताए ।
यता पुरानो सदरमुकाम झापा गाउँपालिका ५ मा ५३ घर डुबानमा परको गाँउपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिएका छन् । उनका अनुसार कनकाई नदीमा आएको बाढीले वडा नम्वर १, २, ४ र ५ का अधिकांश वडा डुबानमा परेका छन् । यता, प्रधानमन्त्रीको गृहनगर दमक पनि डुबानमा परेको छ । पानीको निकास नहुँदा दमक नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको हो ।
गौरीगञ्ज, गौरादह, दक्षिणी शिवसताक्षी, झापा गाउँपालिका, बाह्रदशी गाँउपालिका, विर्तामोड नगरपालिका, कचनकवल लगायत डुबानमा छन् । झापामा २०२ मिलिलिटर पानी परेको कनकाई सिँचाइ परियोजनाको जल तथा मौसम मापन केन्द्रले जनाएको छ ।





