वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित छन्ः मन्त्री बस्नेत


९ मंसिर २०८०, शनिबार १३:५१ मा प्रकाशित

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाउनुभएको छ ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराउनु भयो ।

उहाँले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिनुभयो । नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रश्ताव गरेको बताउनु भयो ।

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडांैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रश्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here