जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री दाहालकाे भनाइ


१ मंसिर २०८०, शुक्रबार १३:२४ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेकपा माओवादी केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे। उनले भने, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो।

पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको बताउँदै प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ। अभियानलाई एक महिना विस्तार गरिएको छ।’

पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै प्रचण्डदले देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here