मधेस सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बुझायो ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी


२३ कार्तिक २०८०, बिहीबार १५:०३ मा प्रकाशित

काठमाडौं । मधेस प्रदेश सरकारले संघीय सरकारलाई ६ बुँदे माग राख्दै बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्रीले ३० दिनभित्र सबै माग पूरा गछौं भन्ने प्रतिक्रिया दिएको बताउनुभयो ।

उहाँले आफूहरुको माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले तपाईंहरुको माग जायज छ । ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्छौं भन्नुभएको छ । त्यो भएन भने हामी सबै दल बस्छौं । धर्ना बस्छौं । आन्दोलन गर्छौं । जेजे गर्नुपर्ने हो सबै गछौं ।’

उहाँले शान्ति सुरक्षाको अधिकार संविधानले प्रदेशलाई दिएको भए पनि प्रहरी प्रशासन आफूहरुसँग नभएको गुनासो गर्नुभयो ।

मधेस सरकारले प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको हो ।

मुख्यमन्त्री यादवले संघबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाई र कमिशनखोरी हुने गरेको आरोप पनि लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here