सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियोः महामन्त्री पौडेल


१५ जेष्ठ २०८३, शुक्रबार १५:०६ मा प्रकाशित


काठमाडौं ।
 नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ । 


बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको हो । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा राज्यले त्यसो नगरेको बताउनु भयो ।

उहाँकाअनुसार बस्तीमा रहेका सबै व्यक्तिहरू जग्गा हडप्ने नियतले मात्र नबसेको र त्यहाँ राज्यकै परिभाषाभित्र पर्ने वास्तविक सुकुम्बासीहरू समेत रहेका थिए । बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको महामन्त्री पौडेलको आरोप छ । उहाँले विद्यालय जाने बालबालिका, सुत्केरी महिला र नियमित औषधि सेवन गर्ने ८० वर्षीय वृद्धवृद्धाहरूको अवस्थाप्रति राज्य अनुदार बनेको बताउनु भयो । 

वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्शविना गरिएको यस्तो कार्यले विस्थापित परिवारहरूमा ठूलो मानसिक आघात परेको भन्दै उहाँले यस विषयमा नेपाली काँग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा बाहिर ल्याएको बताउनु भयो । राज्यले जिम्मेवार ढंगले समस्याको समाधान खोज्नुको सट्टा हेलचेक्य्राँई गरेको उहाँको ठहर छ । –न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here