जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुग्यो


१८ कार्तिक २०८०, शनिबार ०८:२४ मा प्रकाशित

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।

भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भइसकेको छ। थप विवरण संकलन भइरहेको भन्दै शर्माले मृतकको संख्या बढ्न सक्ने बताए।

उनले भने, ‘सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् ।’

यस्तै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भइरहेको छ । ८ जनालाई सुर्खेत पठाइएको शर्माले जानकारी दिए ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे ।

उनले भने, ‘कतिपय ठाउँमा सुरक्षाकर्मी समेत पुग्न कठिन भएको छ । पहाडि इलाका भएकाले अहिले नै क्षतिबारे प्रष्ट भन्न सकिने अवस्था छैन ।’

सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्नसमेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here