चाडपर्वका उपलक्ष्यमा आयोजना गरिने कांग्रेसको चियापान कार्यक्रम आज


११ कार्तिक २०८०, शनिबार ०७:४६ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम आज गर्दै छ । चियापानमा दश हजारजनालाई निम्ता कार्ड बाँडिएको छ ।

चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।

बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक कांग्रेसले हरेक वर्ष निरन्तरता दिँदै आएको छ । ०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए ।

त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ । त्यति बेला प्रतिबन्धमा राजनीतिक दल र सर्वसाधारणबीच भेटका निम्ति सुरु गरिएको चियापान पछिल्लो समय प्रमुख दलका नेताहरू सँगै बसेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने पर्वका रूपमा विकास भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here