राधिका आचार्य,झापा । बिर्तामोड नगरपालिकामा अन्यत्र जिल्लाबाट बसाई सरी आउनेको संख्यामा वृद्धि भएको छ ।
गत वर्ष भन्दा चालु आर्थिक बर्ष २०७५/७६ मा प्रदेश नम्बर १ का इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट बसाई सरी आउने परिवारको संख्यामा बृद्धि भएको हो ।
मेची अञ्चलको प्रमुख व्यापारीक केन्द्रका रुपमा चिनिएको बिर्तामोडमा विकासका पुर्वाधारहरु थपिएसंगै सर्वसाधारणको आकर्षण समेत बढ्दै गएको पाइन्छ । विगतका बर्षहरुको तुलनामा यस वर्ष बसाई सरी आउनेको संख्या झण्डै दोब्बरले बढेको नगरपालिकाका पञ्जीकाधिकारी मेघराज बास्तोलाले जानकारी दिए ।

यस आर्थीक वर्षमा नगरका सबै वडाहरुमा गरी ४ सय ६० वटा बसाईसरी आएको प्रमाण पत्र दर्ता भएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । यहाँ भन्दा राम्रो सुविधाका लोभमा बसाई सरेर जानेको संख्या आउनेको तुलनामा कम देखिन्छ ।यस वर्ष बिर्तामोडबाट बसाई सराईको प्रमाण पत्र लिएर जानेको संख्या १ सय ३६ वटा रहेको छ । गत आर्थिक बर्ष २०७४/७५ मा ३ सय १० वटा बसाई सरेर आएको प्रमाण पत्र दर्ता भएको नगरपालिकाले जनाएको छ । गत वर्ष यहाँबाट बसाई सरेर जानेको संख्या ६० रहेको थियो ।

बिर्तामोड नगरपालिका भित्र शिक्षा,स्वास्थ्य,खानेपानी,विद्ययुत,यातायात जस्ता विकासका पूर्वाधारहरुको राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बसाईसरेर आउनेको संख्या बढ्दै गएको नगरपालीका प्रमुख धुव्रकुार सिवाकोटीको भनाई छ ।बाल बच्चालाई उचित शिक्षा, दिक्षाका साथै व्यापार व्यवसायका लागि समेत बसाई सरेर आउनेको संख्या बढ्दै गएको प्रमुख शिवाकोटी बताउँछन् ।
नेपालको राष्ट्रिय जनगणना विं.स. २०६८ का अनुसार बिर्तामोड नगरपालिकाको कुल जनसंख्या ६० हजार १ सय ७४ रहेको छ ।





