कोशी सरकारका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


१ कार्तिक २०८०, बुधबार ०७:२४ मा प्रकाशित

बिराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लाग्नुभएको छ । 

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बन्नु भएको हो । उहाँले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको हो । 

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिन लाग्नु भएको हो । 

अहिले सत्ता गठबन्धनले कार्की आफ्नै मुख्यमन्त्री भएको बताउँदै आएको छ। एमालेले आफ्नो समर्थनमा उनी मुख्यमन्त्री बनेको बताइरहेको छ। गठबन्धन र एमालेको दबाबका कारण कार्कीले तत्कालै प्रदेशसभाबाट विश्वासको मत लिन खोजेको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ। गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ। त्यस्तै एमालेले आफूहरूसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्न दबाब दिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here