कोशी प्रदेशः मुख्यमन्त्री पदका लागि कांग्रेसका कार्की र माओवादी केन्द्रका आङ्बोद्वारा दाबी पेश


२५ आश्विन २०८०, बिहीबार १९:१७ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेश भएको छ । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन् ।

गठबन्धन दलका शीर्ष नेताहरुबीच विहीबार दिउँसो काठमाडौंमा भएको सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अपरान्ह ५ बज्नुभन्दा केहीबेरअघि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गर्नुभयो । उहाँले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेश गर्नुभएको हो ।

यसैगरी शीर्ष नेताहरुबीच भएका सहमतिप्रति असन्तुष्ट आठ जना नेपाली कांग्रेसका सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ सांसदको हस्ताक्षरसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गर्नुभएको छ ।

एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको उपस्थितिमा उहाँहरु प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर दावी पेश गर्नुभएको हो । शीर्ष नेताहरुबीच भएको सहमतिको विपक्षमा हस्ताक्षर गर्नुहुने सबै सांसद कांग्रेस नेता डा. शेखर कोइराला पक्षका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here