शव ल्याउन सहजीकरणका लागि इजरायलका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको आग्रह


२४ आश्विन २०८०, बुधबार ०८:३९ मा प्रकाशित

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मङ्गलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरी उक्त आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार परराष्ट्रमन्त्रीले फोनवार्तामा नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन विदेशमन्त्री कोहेनसँग आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “मृतकको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाइले पनि घरपरिवारका सदस्यमा झन् पीडा थप्ने छ ।” 

उहाँले भन्नुभयो, “तसर्थ शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ ।”  

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गर्नुभयो । 

कुराकानीका क्रममा मन्त्री साउदले प्यालेस्टिनी विद्रोही समूहद्वारा १० जना नेपालीको निधनले स्तब्ध बनाएको बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here