झापा । बिर्तामोडमा मंगलबारदेखि चौथो वडा स्तरीय नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा सुरु प्रतियोगिताको नगरप्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभयो । यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपूर्ण रंगशालाको रुपमा विकास गर्न मास्टर प्लान बनाएर अघि बढ्ने बताउनुभयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा एफसी अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निबर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, वडाअध्यक्षहरु किशोर पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, सूर्यप्रसाद कन्दङ्वा, अविरलकृष्ण खरेललगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक २ गते हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ३ र ४ वीच भइरहेको छ ।