निर्मला पन्तकी आमा दुर्गादेवीले पाइन् नगरपालिकामा जागिर


२५ असार २०७६, बुधबार २१:०९ मा प्रकाशित

कञ्चनपुर । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् ।

उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए । दुर्गादेवीले चार पाँच महिनादेखिनै जागिरका लागि आफूलाई आग्रह गरेको र लामो छलफलपछि नियुक्ति दिइएको उनले बताए ।

मेयर विष्टले भने ‘छोरीको बलात्कारपछि हत्या भयो । श्रीमानले हेर्दैनन् भनेपछि मानवीय हिसाबले पनि नगरपालिकाले उनको लागि सहयोग गर्नुपर्ने नै भयो । हामीले उनको निवेदन अनुसार दैनिक हाजिरीमा कार्यालयमा सघाउने भनेर काम दिएका छौं । उनको योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं ।’

निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै सोही प्रकृतिको जागिर नगरपालिकाले दिइसकेको मेयर बिष्टले बताए । उनले निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएको समेत जानकारी दिए ।

विद्यालयमा निर्मलाको स्मृति पार्क

यसैबीच भीमदत्त नगरपालिकाले निर्मला पन्तको सम्झना रहिरहोस् भनेर उनी पढेको विद्यालयमा निर्मला स्मृति पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर २ को उल्टाखामस्थित सरस्वती मावि परिसरमा करीव ७ लाखको लगानीमा स्मृति पार्क निर्माण गर्न लागेको मेयर विष्टले बताए ।

नगरपालिकाले निर्मला हत्यापछि महिलाको सुरक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका छात्रालाई सेल्फ डिफेन्स तालिम दिन थालेको छ । मेयर बिष्टका अनुसार पहिलो चरणमा प्रत्येक सामुदायिक विद्यालयका पाँचजना छात्रालाई तालिम दिएर प्रशिक्षकमा रुपमा खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here