सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने बिषयमा दलहरुबीच विवाद हुँदा आयोग गठनमा ढिलाई


७ आश्विन २०८०, आईतवार १६:५४ मा प्रकाशित

काठमाडौ । सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने बिषयमा दलहरुबीच विवाद हुँदा आयोग गठनमा ढिलाई भएको छ ।

असोज ५ गते नै आयोग गठन गर्ने सहमति दलहरुबीच यसअघि नै भएपनि आयोगको कार्यदेशका बिषयमा विवाद हुँदा आयोग गठनमा ढिलाई भएको हो । सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यदेशका बारेमा पटक पटक छलफल भएपछि सहमति नजुटेपछि शीर्ष तहमा नै छलफल गर्ने दलहरुको तयारी छ ।

आयोगको कार्यदेशका बारेमा आइतबार सिंहदरबारमा बिभिन्न दलका सचेतकबीच मौजुदा कानून, घटनाको अनुसन्धान लगाएतमा छलफल भएको थियो ।

सो क्रममा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान सुरुबाटै गर्नुपर्ने माग राखेको थियो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सीआईबीले राम्रो काम गरेपनि आयोगलाई सबै अनुसन्धान गर्ने अधिकार दिनुपर्ने बताउनुभयो ।

उहाले तस्कारीको पर्दा पछाडीको व्यक्तिमाथि छानविन गर्न आयोग गठनको माग गरेकाले सवै अनुसन्धान गर्ने क्षेत्राधिकार दिएर आयोग गठन गर्नुपर्ने जिकिर गर्नुभयो । सुन तस्करीको समग्र अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा राज्यको निकायले अभियोजन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दा असहमति राख्नुपर्ने कुनै कारण नरहेको उहाले बताउनुभयो ।

बर्तौलाले अदालत वा सो सरहको काम गर्ने गरि कार्यादेश तयार गर्नुपर्ने धारणा राख्नुभयो । उहाले बिधुतिय चुरोटबाट भएको सुन तस्कारीका सम्बन्धमा पनि छानविन अनुसन्धान गरि त्यसमा संलग्नहरुमाथि कारवाही गर्नुपर्ने एमालेको माग रहेको जिकिर गर्नुभयो ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले सुन तस्कारी नियन्त्रणका लागि आवश्यक कानूनको सिफारिस गर्ने, अहिलको संरचनामा गर्नुपर्ने सुधार र अहिलेस्म्म भएका अनुसन्धानमाथि अध्ययन गरेर प्रतिवेदन दिने मुल आशय रहेको बताउनुभयो ।

सीआईबीले गरेको अनुसन्धानकलाई शुन्यमा झार्न नहुने र सीआईबीको प्रतिवेदनमाथि अध्ययन गर्न सकिने उहाको भनाइ छ । अहिलेसम्मको अनुसन्धानलाई शुन्यमा झारेर नयाँ ढंगले अनुसन्धान गर्ने आशय एमालेबाट आएकाले सहमति हुन नसकेको उहाको भनाइ छ ।

ब्रेक शुमा लुकाएर ल्याएको ६० किलोबढी सुन प्रकरणलाई लिएर एमालेले निरन्तर संसदमा अवरोध गरेपछि दलहरुबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो । सहमतिमा सीआईबीको अनुसन्धान सकिएपछि असोज ५ गतेदेखि काम थाल्ने गरि आयोग गठन गरिने उल्लेख थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here