देशभरका शिक्षकहरुद्वारा तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन


५ आश्विन २०८०, शुक्रबार १४:३४ मा प्रकाशित

काठमाडौ । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

देशभरबाट काठमाडौं केन्द्रीत शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा लगातार प्रदर्शन भइरहेको छ । सरकारले शिक्षकसंग पटक पटक वार्ताको प्रयास गरेपनि सफल हुन सकेको छैन ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here