लौहपुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण, राष्ट्रपतिले अनावरण गर्ने


३१ भाद्र २०८०, आईतवार १४:२४ मा प्रकाशित

काठमाडौं । भक्तपुरको कटुञ्जेस्थीत गणेशमान सिंह स्मृति बाटिका परिसरमा लौहपुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले २०५४ सालमा शिलान्यास गर्नुभएको गणेशमान सिंह स्मृति बाटिका परिसर निर्माण गरिएको लौहपुरुष गणेशमान सिंहको प्रतिमाको असोज २ गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्ने कार्यक्रम छ ।

गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको जनाएको हो ।

गणेशमान सिंहको २६ औं स्मृति दिवसका अवसरमा अनवरण गर्न लागिएको शालिकको तौल १२ सय किलो रहको र सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका महासचिव कृष्ण मुरारी न्यौपानले जानकारी दिनुभयो । त्यस्तै सोही कार्यक्रममा गणेशमान सिंह स्मृति बाटिकासम्बन्धी स्मारीका पनि सार्वजनिक हुने उहाँले बताउनुभयो ।

सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रममा रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरिने समितिले जनाएको छ ।

गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कुल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here