तीनकुने हत्या काण्ड: हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका


३० भाद्र २०८०, शनिबार ११:४३ मा प्रकाशित

काठमाडौ । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलभित्र गए राती हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ।

दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारको रहेको पुष्टि भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।
हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने अन्दाजी ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन्।

उनीहरुको टाउकोसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि प्रहरीले जनाएको छ। घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अनुसन्धान जारी रहेको प्रवक्ता मैनालीले जानकारी दिए।

दिव्य सःमिल दोलखाको कालीञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बताइएको छ। अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले बताए।

घटना अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भइसकेको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए।

काठमाडौंको तीनकुने गैरीगाउँस्थित दिव्य काठ मिलमा भएको चार जनाको हत्या घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक दीपेन्द्र राई घटनापछि आफैं प्रहरीकहाँ खबर गर्न पुगेका थिए। पक्राउ परेका अन्य तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

उनीहरु सबै लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको भनाइ छ। हत्या गर्नुअघि उनीहरु तीनकुनेकै एक स्नुकर हाउसमा भेट भएका थिए। स्नुकर खेलेपछि उनीहरु सःमिल प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here