संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।
यसअघि बिनोद शर्माबिरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उहाबिरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।
समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिनुभयो ।
त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफुले कार्यसम्पादन गर्ने समेत उहाले बताउनुभयो ।
उहाले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गर्नुभयो । न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।