झापा । झापा जिल्लाका ३ वटा स्थानीय पालिकाहरुमध्ये बुद्धशान्ति गाउँपालिकाका कृषकहरु सुपारी खेतीमा आश्रित रहेका छन् ।
अर्जुनधारा र मेचीनगर नगरपालिकामा पनि ४० प्रतिशत कृषकहरु सुपारी खेतीमा निर्भर रहेका छन् । सुपारी खेतीलाई कम मिहिनेतमा राम्रो मुनाफा आर्जन गर्न सकिने नगदेबालीको रुपमा लिने गरिन्छ । हात्तीको प्रकोप बढी भएका क्षेत्रहरुमा मुख्य नगदे बालीको रुपमा सुपारी खेतीनै रहेको छ ।
सुपारी खेती बहुआयामिक भएका कारण पनि कृषकहरुको चासो वढीनै रहेको पाइन्छ । केही कृषकहरुले सुपारीको विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरेर विरुवा विक्री वितरणवाट मनग्गे आम्दानी लिइरहेका छन् । केही कृषकहरुले सुपारी खेतीसँगै अन्य घुसुवा वाली लगाएर अन्य वालीको तुलनामा सुपारी खेतीवाट दोब्बर भन्दा वढी आम्दानी गरिरहेका छन् । सुपारी उत्पादनसँगै प्रशोधनमासमेत कृषकहरुले चासो दिने गरेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ मा सुपारीको नर्सरीसँगै उत्पादित सुपारीलाई स्थानीय स्तरमै प्राप्त श्रोतसाधनवाट प्रशोधन गरिरहनु भएका कृषक चुडामणि न्यौपानेले सुपारी प्रशोधनका लागि नविनतम् प्रविधिमा राज्यले सहयोग नगर्दा गुणस्तरीय प्रशोधनमा समस्या भएको बताउनु भयो ।
साथै बजारीकरणका लागि सहज रुपमा दोश्रो मुलुक निर्यात गर्न र रोग किरा पहिचानका लागि प्राविधिक सहयोग सरकारले गरेको खण्डमा देशको आर्थिक स्थर माथि उठ्ने उहाँले बताउनु भयो ।
कृषकले उत्पादन गरेका सुपारी खरिद गरेर प्रशोधन साथै बजारीकरणका लागि सुपारीसँग सम्बन्धित सहकारीहरुले कारोबार गरिरहेका छन् । १० वर्ष अघिको तथ्यांक अनुसार नेपालमा सुपारी खेतीसँग सम्बन्धित २३ वटा सहकारीहरु स्थापना भएर सञ्चालनमा रहेका छन् । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०८० असार २२ गते सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालमा सुपारी खेती गरिएको कुल ४ हजार १ सय १९ हेक्टर क्षेत्रफलमध्ये ४ हजार १९ हेक्टर उत्पादनशील क्षेत्रफलमा प्रति हेक्टर ३.६४ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगरमा सुपारी खेती गर्दै आउनु भएका कृषक गजाधर पौडेलले आफूले १६ कठ्ठा क्षेत्रफलमा सुपारी खेती गरेको र त्यसमा ६ सय विरुवा रहेकामध्ये ५ सयबाट उत्पादन भइरहेको वताउनु भयो । अन्य बालीको तुलनामा सुपारी खेती धेरै सजिलो भएको वताउँदै बार्षिक २ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी विक्री गर्ने गरेको पौडेलले बताउनुभयो ।
१० वर्ष अघिको तथ्यांक अनुसार झापा जिल्लामा करिब २ हजार हेक्टर जमीनमा सुपारीको खेती गरिन्थ्यो । यस हिसाबले अनुमानित ३ लाख बोटहरुमध्ये ७० प्रतिशत अर्थात २ लाख १० हजार वटा बोटहरुबाट प्रति वर्ष २१०० मेट्रिक टन सुपारी उत्पादन भएको १० वर्ष अघिको एक सर्वेक्षणमा देखिएको छ । वि.सं. २०६९ सालमामा झापा जिल्लामा उत्पादित सुपारीबाट (दाना मात्र) ४२ करोड रुपियाँको कारोबार भएको अनुमान गरिएको थियो । १० वर्ष यता सुपारी खेतीमा आकर्षित कृषकहरुको यकिन तथ्याङ्क नभए पनि हरेक वर्ष झापामा उत्पादन गरिएका लाखौँको संख्यामा सुपारीका विरुवाहरु विक्री वितरण सहज रुपमा हुने गरेको छ ।
२०५६ सालबाट सुपारीसँग सम्बन्धित कारोवार गर्दै अउनु भएका खगेन्द्रराज ढकाल बुद्धशान्ति १ मा रहेको श्री कृष्ण सुपारी सहकारी संस्था लिमिटेडको फिल्ड सुपरिवेक्षक हुनुहुन्छ । झापामा सुपारीको बजारीकरणको सन्दर्भमा सहकारीको स्थापनापछि कृषकहरुलाई सहज भएको उहाँ बताउनुहुन्छ ।
नेपालमा सुपारी खेती दिनप्रतिदिन बढिरहेका कारण सुपारीको उपयोगितामासमेत बृद्धि भएको छ । सुपारीको पातबाट गाई वस्तुलाई खुवाउने दाना तयार हुन्छ, त्यसै गरी त्यसको खबटाबाट युज एण्ड थ्रो थाल/बटुका निर्माण भइ विदेशसमेत निर्यात हुने गरेको छ । जस्ले गर्दा कृषकको आर्थिक अवस्था मजबुद हुँदै गएको देखिन्छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा रहेको श्री कृष्ण सुपारी सहकारी संस्था लिमिटेडले प्रशोधन गरिएको सुख्खा सुपारी वार्षिक रुपमा लाली र फाली गरेर ४ सय क्विन्टलसम्म विक्री गर्ने गरेको सहकारीका सचिव खिवनाथ गौतमले जानकारी दिनुभयो ।
वर्षमा एक पटक मात्र सुपारी उत्पादन हुने भए पनि एउटै परिवारमा खोल सहितको काँचो अर्थात कच्चा सुपारीबाट वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गर्ने कृषकहरु भेट्न सकिन्छ । झापा जिल्लामा मात्र थुप्रै सुपारी प्रशोधन केन्द्रहरु स्थापना भएका छन् । सिंगो गाउँपालिका सुपारी खेतीबाट आश्रित रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई बताउनुहुन्छ ।
झापा जिल्लामा सुपारी खेती विकासका सन्दर्भमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नेपाल सरकारले सुपारी जोन कार्यक्रम सञ्चालन गरेको छ । जस्ले हरेक वर्ष कृषक, समूह र सहकारीमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । जिल्लामा उत्पादित सुपारीको सहज निर्यातमा समस्या भएको हुँदा यहाँ उत्पादित सुपारीको बजारीकरणमा भने झन्झट ब्यहोर्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा सुपारी उत्पादनसँग जोडेर आउने गरेका भ्रामक अभिब्यक्तिका कारण कृषकहरु चिन्तित बनेका छन् ।