काठमाडौँ । झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।
लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको ६० किलो सुन प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज सरकारी वकिलमा बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् ।
पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।